जानाजान चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना गराएको अमेरिकी सञ्चार माध्यमको दाबी
१७ जेष्ठ २०७९, मंगलवार

चीनमा गत मार्चमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानलाई जानाजान ‘नोज डाइभ’ मा राखिएको सो विमानको फ्लाइट डेटाले संकेत गरेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।
अनुसन्धानकर्ताहरूले अहिलेसम्म जेटमा कुनै मेकानिकल वा प्राविधिक त्रुटि फेला नपारेको अमेरिकी अधिकारीहरूले गरेको प्रारम्भिक मूल्याङ्कनलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएको छ ।
चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्सी प्रान्तको पहाडमा दुर्घटनामा परेर आगो लागेको थियो । कुन्मिङबाट गुआन्झाउ तर्फ उड्ने क्रममा विमान दुर्घटना भएको थियो । दुर्घटनापछि विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो ।
‘जहाजले त्यही काम गर्यो जुन काम गर्न ककपिटबाट कसैले विमानलाई निर्देशन दिएको थियो’ अमेरिकी अधिकारीहरूको प्रारम्भिक मूल्याङ्कनसँग परिचित व्यक्तिलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले लेखेको छ ।
दुर्घटनालगत्तै सार्वजनिक भएको एउटा भिडियोमा पनि विमानको अगाडिको भाग आकाशबाट सीधै तल सोझिएको अवस्थामा देख्न सकिन्छ ।
एबीसी न्यूजले पनि अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सो दुर्घटना नियोजित भएको हुनसक्ने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया