६ दिनभित्र नयाँ चुनाव गराउन पाकिस्तान सरकारलाई इमरान खानको चेतावनी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आगामी ६ दिनभित्र नयाँ चुनाव गराउन पाकिस्तान सरकारलाई चेतावनी दिँदै अन्यथा ठूलो आन्दोलन गर्ने बताएका छन् । बिहीबार बिहानै इस्लामावादमा हजारौं प्रदर्शनकारीहरूको र्‍यालीमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘सरकारले संविधानसभा विघटन गरेर निर्वाचनको घोषणा नगरेसम्म मैले यहीँ बस्ने निर्णय गरेको छु, तर विगत २४ घण्टामा यिनीहरू (सरकार) ले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको मैले देखेको छु,’ ६९ वर्षीय पूर्वप्रधानमन्त्री खानले भनेका छन् ।

खानका समर्थक र प्रहरीबीचको झडपले उग्ररुप लिएपछि यसअघि पाकिस्तान सरकारले संसद, राष्ट्रपति र प्रधानमन्त्री शहबाज सरिफको कार्यालय लगायतका महत्वपूर्ण भवनमा सुरक्षाका लागि सेना बोलाएको थियो ।

पूर्वप्रधानमन्त्री खानले आफ्नो सम्बोधनका क्रममा देशभरि भएको हिंसामा आफ्ना पाँच जना समर्थक मारिएको दाबी गरेका छन्। यस विषयमा पाकिस्तान सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।