कांग्रेस १ सय ८७ वटा पालिकाको प्रमुख

पालिकाअन्तर्गत अहिलेसम्म चार सय पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

९१ वटा नगरपालिका र तीन सय ९ वटा गाउँपालिका गरी चार सय वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ५१ वटा नगरपालिका र एक सय ३६ वटा गाउँपालिका गरी एक सय ८७ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ ।

यस्तै कांग्रेसले ४२ वटा नगरपालिकाको उपमेयर, एक सय ३४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ७६ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले एक हजार ८ सय ८८ वटा वडाध्यक्ष पद जितेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले २६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका गरी ११४ वटा पालिकाको प्रमुख पद जितेको छ। ३० वटा नगरपालिकाको उपमेयर र ८५ वटा पालिकाको उपाध्यक्ष गरी ११५ वटा पालिकामा उपप्रमुख र उपाध्यक्ष जितेको छ । एमालेले एक हजार ४ सय ७३ वटा वडाध्यक्ष पदमा जित हासिल गरेको छ ।

माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ६९ वटा गाउँपालिका गरी ७८ वटा पालिकाको प्रमुख पद जितेको छ । १४ वटा नगरपालिकाको उपमेयर, ७२ वटा गाउँपालिकाको उपाध्यक्ष र सात सय ९५ वटा वडाध्यक्ष पदमा जित निकालेको छ।