नवाज सरिफलाई भेट्न पाकिस्तानी प्रधानमन्त्री लण्डनमा

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग एन (पीएमएल एन) का अध्यक्ष नवाज सरिफलाई भेट्न बेलायतको लन्डन पुगेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ सजाय भुक्तान गरिरहेका सरिफ भने उपचारका लागि लण्डन गएर अदालतको आदेशविपरीत लण्डनमै रहँदै आएका छन् ।

स्थानीय मिडियाका अनुसार शहबाजसँगै संघीय मन्त्रीहरू र सत्तारुढ दल पीएमएल- एनका नेताहरू पनि सामेल छन् ।

उक्त टोलीमा अहसान इकबाल, मिफ्ताह इस्माइल, अयाज सादिक, मरियम औरंगजेब, साद रफिक र ख्वाजा आसिफ रहेको पाकिस्तानी मिडियाले जनाएका छन् । लण्डनमा सरिफले पीएमएल- एनका नेताहरूसँग केही महत्त्वपूर्ण मुद्दामा परामर्श गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच नवाजले लन्डनमा मिडियासँग कुरा गर्दै शहबाज सरिफको टोलीसँग भेट्न उत्सुक रहेको प्रतिक्रिया दिएका छन् ।