चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५० भन्दा बढी

चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ ।

गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो भवनमा रहेका १० जना नागरिकलाई भने जीवितै उद्धार गरिएको छ । त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशंका गरिएका नागरिकको उद्धार जारी राखिएको थियो ।

शुक्रवार हुनानका प्रान्तीय प्रहरी प्रमुखले सो प्रान्तको वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरू १० जनालाई जीवितै उद्धार गरिएको जानकारी दिएका हुन् । यस दुर्घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।