अमेरिकी उपमन्त्री उज्रा जिया काठमाडौं आउने
२१ बैशाख २०७९, बुधबार

अमेरिका कुटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट अर्को एक उच्चस्तरीय भ्रमण हुने भएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया नेपालमा स्थानीय तहको निर्वाचन सकिएलगत्तै नेपाल आउन लागेकी हुन् ।
परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासका एक अधिकारीका अनुसार उपमन्त्री जियाले जेठ ६ देखि ८ सम्म तीन दिने औपचारिक भ्रमण गर्न लागेकी हुन् । तर उनको नेपाल भ्रमणको सम्बन्धमा अमेरिका र परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी नै छ ।
भ्रमणका क्रममा उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । जिया अमेरिकाको तिब्बती मुद्दाका लागि विशेष संयोजक पनि हुन् । नेपालमा बसोबास गर्ने तिब्बती शरणार्थीप्रति अमेरिकाले चिन्ता व्यक्त गर्दै नेपालमा रहेका करिब १० हजार तिब्बती शरणार्थीलाई परिचयपत्र उपलब्ध गराउन आग्रह गर्दै आइरहेको छ ।
तर‚ एक चीन नीतिमा कटिबद्ध नेपालले सन् १९९५ देखि तिब्बती शरणार्थीलाई परिचयपत्र दिन बन्द गरिसकेको छ । तिब्बती शरणार्थीलाई लिएर नेपालमा चीनको विशेष चासो छ । नेपाल सरकारले आफ्नो भूमिमा तिब्बतीहरूको कुनै पनि चीन विरोध कार्यक्रमलाई सम्पूर्ण राज्य संयन्त्र प्रयोग गर्दै रोक्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया