चीनमा फेरि बढ्यो कोरोना
१९ बैशाख २०७९, सोमबार

कोरोना भाइरसको संक्रमण पुन : फैलन थालेपछि चीनका अधिकांश सहरमा प्रतिबन्धहरू सुरु गरिएको छ । राजधानी बेइजिङका स्थानीयले अब सार्वजनिक स्थानमा प्रवेश पाउनका लागि संक्रमण नरहेको प्रमाण देखाउनुपर्ने भएको छ ।
अधिकारीहरूले बेइजिङका अधिकांश बासिन्दालाई कोभिड परीक्षण गर्न आदेश जारी गरेका छन् । पुन: कडाउन हुने त्रास फैलिएपछि मानिसहरू अत्यावश्यक सामग्रीको किनमेलमा जुटेका छन् । यसअघि कोरोना भाइरसको संक्रमण नियन्त्रणका चीनले विश्वमै कडा नियम लागू गरेको थियो ।
पछिल्लो अवस्थासँगै सरकारले अझै कडा नीति लागू गर्न सक्ने भन्दै स्थानीयमा त्रास फैलिएको छ । हाल दसौं लाख मानिसहरू आंशिक वा पूर्ण लकडाउनको अवस्थामा बाँचिरहेका बीबीसीले जनाएको छ । नोमुरा कम्पनीका अनुसार हाल चीनका ४६ सहर पूर्ण वा आंशिक लकडाउनको अवस्थामा छन् ।
बेइजिङको सबैभन्दा धेरै जनसंख्या भएको चाओयाङ क्षेत्रमा सोमबारदेखि नै व्यापक रूपमा परीक्षण सुरु गरिएको छ । परीक्षण अभियान हाल कम्तीमा १२ वटा क्षेत्रमा विस्तार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बेइजिङको जनसंख्या २ करोड १० लाख छ । अप्रिल २२ यता बेइजिङमा कम्तीमा २ सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये १ सय २३ जना संक्रमित भेटिएको चाओयाङमा तीन चरणमा परीक्षण गरिने जनाइएको छ ।
अधिकारीहरूले बेइजिङको संक्रमणको अवस्था नियन्त्रणमै रहेको र सहरमा लकडाउनको तयारी नभएको बताएका छन् । संक्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिएको र नयाँ संक्रमण नियन्त्रणमा ल्याइएको उनीहरूको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया