सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापनका लागी भारतले ४ करोड ११ लाख आर्थिक सहयोग उपलब्ध गराउने

काठमाडौँ । सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजना का लागि भारतले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि मंगलबार काठमाडौँस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

‘यस परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाइको व्यवस्था गर्नेछ,’ काठमाडौँस्थित भारतीय दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । तीमध्ये ४६७ वटा परियोजनाहरू सम्पन्न गरिसकेको छ ।

‘यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ,’ दूतावासले भनेको छ ।