पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने भारतीय प्रधानमन्त्री मोदीको भनाई
२० चैत्र २०७८, आईतवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता भएको थियो । लगतै प्रतिनिधिमण्डल स्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ ।
लगत्तै संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपालका प्रधानमन्त्री देउवा र आफ्नो बीचमा सबै विषयमा कुराकानी भएको बताए । आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएको उनले बताए ।
उनले अघि भने, ‘पावर सेक्टरमा सहयोगको अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउन जोड दियौं । यो क्षेत्रको विकासका लागि गेम चेन्जर परियोजना हुनेछ ।’
उनका अनुसार नेपालको जलविद्युत क्षेत्रमा भारतीय कम्पनीको अधिक सहभागिताका लागि सहमति भएको छ । अहिले पनि नेपालले भारतमा विद्युत निर्यात गरिरहेको भन्दै उनले भने, ‘नेपालबाट पावर ल्याउने अरु प्रोग्रामलाई स्वीकार गर्दैछौं ।’
प्रधानमन्त्री देउवा र आफूले व्यापार र सबै प्रकारका क्रस बोर्ड कनेक्टिभिटीलाई प्रथमिकता दिने सहमति गरेको उनले बताए । नेपाल पुलिस एकेडेमी, नेपालञ्जमा एकीकृत भन्सार जाँच चौकी, रामायण सर्किट आदिले यसलाई सघाउने भन्दै उनले भने, ‘ओपन बोर्डरको दुरुपयोग नहोस् भनेर छलफल गरौं । सुरक्षा सहयोगमा जोड दिएका छौं ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया