रुसी विदेशमन्त्री लाभरोभ भारत भ्रमणमा,दशकौँ पुरानो मित्रताले व्यापारिक सम्बन्धलाई बढाउला त अगाडि ?
१९ चैत्र २०७८, शनिबार

काठमाडौँ । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ दुईदिने औपचारिक भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा छन् । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि भारतमा यो उनको पहिलो भारत यात्रा हो । भारत आउनु पहिले लाभ्रोव चीनमा थिए । त्यहाँ उनले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका थिए ।
मस्कोमाथि लगाइएको प्रतिबन्धको प्रभावलाई कम गर्न र भारतसँगको व्यापारिक सम्बन्धलाई अगाडि बढाउन लाभरोभले भ्रमणको क्रममा वार्ता गर्ने अपेक्षा गरिएको छ । लाभरोभको भारत भ्रमणका क्रममा रुसी कच्चा तेल खरिद गर्ने विषयमा पनि वार्ता हुने अपेक्षा गरिएको छ । यससँगै मस्को विरुद्धको पश्चिमी प्रतिबन्धलाई ध्यानमा राख्दै द्विपक्षीय व्यापारका लागि रुपैयाँ–रुबल भुक्तानी प्रणाली स्थापना गर्ने विषयमा पनि वार्ता हुन सक्नेछ । हालै भारतले ३० लाख ब्यारेल रुसी तेल भारी सहुलियतमा आयात गर्न सहमत भएको छ ।
एस–४०० मिसाइल प्रणालीका विभिन्न सैन्य हार्डवेयर र उपकरण समयमै उपलब्ध गराउने विषयमा पनि दुई देशबीच वार्ता हुन सक्छ । लाभरोभले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री जयशंकरलाई भेटेर साँझ मस्को प्रस्थान गर्नेछन् ।
लाभरोभको भारत भ्रमणको महत्व
दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयका युरोपेली मामिलाका विज्ञ प्राध्यापक गुलशन सचदेवा युक्रेनको सन्दर्भमा भइरहेको घटनाक्रममा रुसी विदेशमन्त्रीको भारत भ्रमण निकै महत्वपूर्ण रहेको बताउँछन् । उनका अनुसार पश्चिमा देशहरूले जसरी रुसलाई एक्लो पार्न खोजिरहेका छन्, यस्तो बेला यो भ्रमण महत्वपूर्ण छ ।
प्राध्यापक सचदेवा भन्छन्, “पश्चिमी देशहरूले भारतलाई दबाब दिन सक्दो प्रयास गरिरहेका छन् । भारतले अहिलेसम्म आफूलाई तटस्थ देखाउने प्रयास गरेको छ । पछिल्ला १०–१५ वर्षमा भारतको पश्चिमी देशहरूसँगको सम्बन्ध पनि गहिरो भएको छ । चीनसँग चलिरहेको तनावका कारण पछिल्लो दुईतीन वर्षमा यो निकटता अझै बढिरहेको छ । यस्तो अवस्थामा भारत आफ्नो पक्षमा उभियोस् र कुनै पनि हालतमा भारतको झुकाव रुसतर्फ नहोस् भन्ने पश्चिमा देशको अपेक्षा छ ।”
शीतयुद्धको समयदेखि नै भारतको रक्षा हित रुससँग जोडिएको छ र रक्षा क्षेत्रमा भारतको रुसमाथि निर्भरता लुकेको छैन । तथ्य यो छ कि भारतको लगभग ७० प्रतिशत सैन्य हार्डवेयर रुसबाट आउँछ । यस्तो अवस्थामा भारतले आफ्नो रक्षा हितलाई प्राथमिकता दिँदै रुससँगको दशकौँ पुरानो मित्रतामा कुनै सम्झौता नगर्ने ठानिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया