चुनावी गठबन्धनबारे कांग्रेसले आज निर्णय गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा आज निर्णय  गर्ने भएको छ ।

आज दिउँसो ३ बजे बस्ने केन्द्रीय समितिको बैठकबाट गठबन्धनबारे निर्णय गर्न लागेको कांग्रेस स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण मतहतले स्थानीय तह निर्वाचनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आजको केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने जानकारी दिएका छन् ।

आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच आवश्यकताको आधारमा तालमेल गर्ने कांग्रेसको नीति छ । यद्यपि गठबन्धन गर्न नहुने तर्कसहितको मत पनि केन्द्रीय समितिमा आएको छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने वर्तमान सत्ता गठबन्धनका दलहरुसँग तालमेल गरेर चुनावमा जानुपर्नेमा दृढ देखिएका छन् । त्यसैले केन्द्रीय समितिको बैठकले चुनावमा गठबन्धन गर्ने भनेर आधिकारिक निर्णय लिने अनुमान छ ।

बैठकले आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानको व्यवस्था छ ।