स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिन्छ : प्रचण्ड
१४ चैत्र २०७८, सोमबार

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताएका छन् ।
७ वर्षपछि रोल्पा पुगेका दाहालले निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगरिने बताए ।उनले भने, ‘आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं । आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्छौं ।’
दाहालले महाधिवेशन र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेकाले निर्वाचनमा आफ्नो जित हासिल हुनेमा विश्वास भएको दाबी समेत गरेका छन्। आफ्नै नेतृत्वमा २०५२ फागुन १ मा माओवादी सशस्त्र द्वन्द्वको सुरुआत गरेको जिल्ला रोल्पामा आयोजित जनसभालाई सम्बोधन गर्न आएका दाहालले निर्वाचनमा गठबन्धन र तालमेल गर्न सकिने निर्णय पनि गरिएको बताए ।
उनले भने, ‘गठबन्धनमा भर परेर निर्वाचन लड्ने हैन, आफ्नै शक्तिमा निर्वाचन लड्ने हो । किनभने अहिलेको गठबन्धन विशेष राजनीतिक परिस्थितिमा बनेको हो ।’
दाहालले रोल्पा नगरपालिकाले सातदोबाटोमा करिब ६ करोडमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटनसमेत गरे । उनले आफूले नेतृत्व गरेको जनयुद्ध रोल्पाबाट सुरु गरेको र ठूलो राजनीतिक परिवर्तन गरेको दावी गरे ।
लिवाङमा जिल्ला पार्टीले दिउँसो आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया