न्यायीक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति भण्डारी पोखरामा

काठमाडौँ । न्यायीक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छिन्।

नेपाली सेनाको हेलिकप्टरमार्फत् भण्डारी पोखरा पुगेकी हुन्। सम्मेलनको उद्घाटनपछि उनी आजै काठमाडौं फर्कने कार्यक्रम छ।

पोखरा महानगरको न्यायीक समितिको आयोजनामा पहिलो पटक न्यायीक सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा देशभरका सबै स्थानीय तहका उपप्रमुखलाई निमन्त्रणा पठाएको न्यायीक समिति पोखराका संयोजक एवं उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन्।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल अब डेढ महिना बाँकी छ। पाँच वर्षे कार्यकालमा स्थानीय जनप्रतिनिधिले संविधानमै उल्लेख गरेर स्थानीय सरकारले पहिलो पटक न्यायीक अधिकारको प्रयोग गरेका छन्।

सम्मेलनबाट जारी गरिने घोषणा पत्र प्रदेश र संघ सरकारलाई बुझाउने समेत उनले बताइन्।